स्याङजामा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा

घनश्याम पाण्डेय
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मगंलबार भीरकोट नगरपालिका बयरघारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता ब्यबस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

प्रतियोगिता ब्यबस्थापन समितिका संयोजक जिल्ला समन्य समिति स्याङजाका प्रमुख सीता सुन्दासले प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । कार्तिक १५ गते विहिबारबाट १८ गते सम्म हुने प्रतियोगिताको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उदघाटन गर्ने तय भएको छ ।

प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडीड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा स्याङजाको ११ वटै स्थानीय तहको सहकार्य रहेको छ ।

प्रथम हुनेलाई एक हजार पाँच सय युरो पुरस्कार

भीरकोट ५ स्वरेक मैदानबाट प्याराग्लाडिङ टेक अफ गेरर वालिङ ११ डौवाफाँटमा ल्याण्डडिङ हुनेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रा हुनेले क्रमशः १ हजार ५००, १ हजार २०० र ७०० युरो पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताका लागि रु १ करोड ६० लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्न भीरकोट नगरपालिकाका मेयर छाँयाराम खनालले सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । टेक अफ हुने ठाउँको तयारी पुरा भएको भीरकोट नगरपालिका वडानं ५ का अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले जानकारी दिनुभयो ।

९८ पाइलट सहभागी हुने

प्रतियोगितामा २१ देशका ९८ पाइलट सहभागी हुने तय भएको आयोजकले जनाएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाइडिङमा नेपालले एक मात्र रजत पदक जितेर पदकविहीन हुनबाट बचेको थियो ।

Facebook Comments