अस्पतालवाट छिट्टै फर्केर समृद्ध नेपालको सपना साकार पार्ने प्रधानमन्त्रीको सन्देश

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले मंगलवार जारी गर्नुभएको सन्देशमा भनिएको छ– “चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” । “विगतमाझैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”
प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ –“सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफूले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गर्नुभएको छ ।

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्टकपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंगविदेशी कुटनीतिक नियोग, कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

रिपोर्ट सकारात्मक

यसैवीच, प्रधानमन्त्री केपी शर्मा ओलीको रगत परीक्षण र छातीको एक्स – रे रिपोर्ट सकारात्मक रहेको अस्पतालले जनाएको छ । उहाँको मंगलबार बिहान उक्त परीक्षण गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको उपचार डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दासको टोलीले गरिरहेको छ । यस अघि चिकित्सकले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित भएको बताएका थिए ।

Facebook Comments