भरतपुर अस्पतालका पूर्वअध्यक्ष भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

विशेष अदालतले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर गरेको छ । डा. श्रेष्ठलाई अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो ।

अख्तियारले श्रेष्ठमाथि २०७२ सालमा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा चलाएको थियो । सोहि मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलासले उनलाई कैद र जरिवानाको फैसला सुनाएको रजिष्ट्रार भिमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अख्तियारले श्रेष्ठसँग १ करोड ६७ लाख ९७ हजार १ सय १३ रूपैयाँ अवैध सम्पत्ति रहेको भन्दै मुद्दा चलाएको थियो । विशेषले भने अख्तियारले दाबी गरेको मध्ये ४८ लाख ९० हजार ३ सय ३७ रुपैयाँ श्रेष्ठको वैध सम्पत्ति रहेको र बाँकी १ करोड १८ लाख ६६ हजार रूपैयाँ अवैध ठहर्याएको हो ।

उक्त अवैध सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ। अवैध ठहरिएको जति नै रकम उनले जरिवानाका रूपमा बुझाउनुपर्ने फैसलामा भनिएको छ । विशेषले श्रेष्ठकी श्रीमती शिलुलाई भने सफाइ दिएको छ ।

Facebook Comments