प्लाष्टिक घरभित्र खेती गर्ने प्राविधिक ज्ञान नभएको कृषकको गुनासो

घनश्याम पाण्डेय
पोखरा महानगरका पोलिहाउसभित्र खेती गर्ने किसानहरुले प्राविधिक ज्ञानको अभावमा प्लाष्टिकघर भित्र लगाइने तरकारी खेतीबाट लाभ लिन नसकेको गुनासो गरेका छन् । पोखरा महानगरपालिका कृषि विकास शाखा पोखराद्धारा आयोजित पोलिहाउस भित्र खेतीगर्ने कृषक तथा विज्ञहरु विचको अन्रक्रियामा बोल्दै कृषकहरुले सो गुनासो गरेका हुन ।

बालीसंरक्षण कार्यालय पोखराका प्रमुख धनबहादुर रानाले कृषकले लगाएको बालीमा समस्या देखीनासाथ कृषि प्राविधिकहरुलाई खबर गर्न आग्रह गर्नुभयो । प्लाष्टिक घर भित्र लगाउने बाली र ब्यबस्थापन कृषकले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । तरकारीबाली बाहिर लगाउने सिजन र भित्र लगाउनेमा फरक हुनेपनि बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुपरजोन कास्कीका प्रमुख बसन्तकुमार श्रेष्ठले तरकारी सुपरजोजनले कास्कीमा गरेका कामको बारेमा अबगत गराउदै हाइटेकबाट सोचे अनुरुपको प्रतिफल प्राप्त नभएका बताउनुभयो । उहाँले अहिले नै निष्कर्षमा पुग्ने बेला भने भइनसकेको बताउनुभयो ।

पोखरा महानगरपालिका कृषि विकास शाखा पोखराका प्रमुख मनहर कडरीयाले महानगरभित्र ४ हजार प्लाष्टिकघर भित्र तरकारी खेती हुने गरेको बताउनुभयो । कडरीयाले अहिले प्लाष्टिकघर भित्रको तरकारीमा रोगकिराको प्रकोप देखिएको किसानको गुनासो आएको बताउनुभयो  ।

कडरीयाले तरकारीमा किसानको उत्पादन लागत कमगराउदै प्रतिफलबढि कसरी दिन सकिन्छ भन्नेमा महानगरलागि परेको बताउनुभयो । कार्यक्रममा गोमा ढकाल, हरिकृष्ण भट्टराई लगायतले किसानले भोग्नुपरेको समस्या बारे अबगत गराउनुभएको थियो ।

Facebook Comments