पीपीएल क्रिकेटमा चितवन राइनोज पहिलोपटक विजयी

पोखरामा जारी पीपीएल टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलहरुमा चितवन राईनोज र विराटनगर टाईटन्स विजयी वनेका छन् । सम्पन्न पहिलो खेलमा एक्स्पर्ट धनगढीलाई १२६ रनले पराजित गर्दै पारस खड्काको चितवन राइनोजले जारी प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।

हरिशङ्कर शाहको ५३ रनको अर्धशतकीय पारीको मद्दतले टस हार्दै पहिले ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रनको विशाल स्कोर खडा गरेको थियो । १९४ रनको विशाल स्कोर पछ्याएको धनगढीको पारी १६.२ ओभरमै धराशयी हुँदै ६७ रनमा अल आउट हुन पुग्यो ।

खेलमा अलराउन्ड प्रदर्शनका गरेका चितवनका सन्नी पटेल म्यान अफ दि म्याच घोषित भए । खेल पछि दुवै टिम अङ्कतालिकामा २/२ अङ्क जोड्न सफल भएका छन् ।  आजै सम्पन्न दोश्रो खेलमा अङ्कतालिकाको शीर्ष स्थानको बुटवललाई १२ रनले पराजित गर्दै विराटनगर टाइटन्सले पहिलो जीत दर्ता गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । जवाफमा १४१ रनको लक्ष्य लिएर उत्रेको बुटवल ब्लास्टर्सका विदेशी खेलाडी ब्याटिङमा जम्न नसक्दा हार बेहोर्न पुग्यो । यससँगै विराटनगरले ४ खेलबाट २ अङ्क हासिल गर्दै प्रतियोगितामा आफुलाई गणितीय रुपमै भए पनि जीवितै राखेको छ । बुटवलको भने ३ खेलबाट ४ अङ्क छ ।

Facebook Comments