गुर्जा हिमाल आरोहण गर्न गएका ८ जनाको मृत्यु भएको आंशका

म्याग्दीमा हिमाल आरोहण गर्न गएका ८ जनाको मृत्यु भएको आशंका गरिएको छ । जिल्लाको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका मध्ये ८ जनाको मृत्यु भएको र १ जना बेपत्ता भएको आशंका गरिएको छ ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट ४ जना नेपाली भरिया सहित पाँच जना कोरियन नागरिक गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेको आशंका गरिएको छ । घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ भने मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा हेलिकप्टर पठाउने तयारी गरिएको छ । पोखराबाट गएको टोलीले ८ जना मान्छेको शव देखेको बताए पनि यकिन विवरण आउन भने बाँकी छ । सो टोली गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो ।

टोलीमा रहेका भरिया गुर्जा गाउँकै बासिन्दा सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको स्थानीयले जानकारी दिएका छन् । म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायम उपरीक्षक वीरबहादुर बुढाका अनुसार स्थानीयले शुक्रबार साँझ प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । ६ हजार ४ सय ६५ मिटर उचाईको गुर्जा हिमाल आरोहणका लागि बर्षौंपछि यो टोली पुगेको थियो ।

Facebook Comments