आलोचनालाई सकारात्मक रुपमा लिन्छु : मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारकर्मीहरुले जति आलोचना गरेपनि त्यसबाट आफूलाई सकारात्मक उर्जा मिल्ने धारणा व्यक्त गर्नुभएको छ । पत्रकारका आलोचनाले पृष्ठपोषणको काम गर्ने जिसीको भनाई छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा मेयर जिसीले आलोचना र टिकाटिप्पणी गर्दा समाधान सहित गरेमा राम्रो हुने बताउनुभयो ।

महानगर पत्रकार महासंघसँग सहकार्य गरेर जान तयार रहेको उल्लेख गर्दै मेयर जिसीले पत्रकार सुरक्षा तथा दुर्घटना विमा लगायतका कार्यक्रमहरुमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्र चूनौतीपूर्ण रहेको भन्दै पत्रकार नैतिक र ईमान्दार वन्नुपर्नेमा जिसीको जोड रहेको थियो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले विशेषगरि छापा सञ्चार माध्यम पछिल्लो समयमा चुनौतिपूर्ण देखिएको उल्लेख गर्नुभयो । महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारितामा रुचीभएका व्यक्तिहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिलाई समाचार लेख्न सक्षम बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

असोज २४ गतेबाट संचालन भएको तालिममा ४५ जना सहभागि थिए । सहभागिहरुलाई पोखराका अग्रज पत्रकारहरुले समाचार लेखन, समाचारका स्रोतहरु, पत्रकार आचारसंहिता लगायत विषयमा तालिम प्रदान गरेका थिए ।

Facebook Comments