मदिरा सेवनका कारण आपराधिक घटनामा बृद्धि : गृह मन्त्रालय

गृह मन्त्रालयले आपराधिक घटनाको मुल कारण मदिरा सेवन रहेको निष्कर्ष निकालेको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो । मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीका अनुसार मदिराका कारण जबर्जस्ती करणीका घटना वढेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जबरजस्ती करणी अपराधमा संलग्नहरुमध्ये ७३.६५ प्रतिशतले मदिरा सेवन गरेको पाईएको छ । जबरजस्ती करणी अपराधमा संलग्नहरु मध्ये २६.३५ प्रतिशतले मात्रै मदिरा सेवन नगरेको पाइएको जनाइएको छ । गृहमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मदिरा सेवनको नशामा १७३ जबरजस्ती करणी महल अन्तर्गतका अपराध भएका छन् भने, ४९ वटा जबरजस्ती करणी अन्य कारणले भएका छन् ।

यसैवीच, अघिल्लो वर्षको तुलनामा जोरजुलुममा हुने जबरजस्ती करणी हृवात्तै बढेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ललाइ फकाइ करणी गर्नेको संख्या ४० थियो भने आर्थिक वर्ष २०७४÷०७५ मा सो संख्या ९८ देखाइएको छ । आर्थिक वर्ष ०७३÷०७४ मा ६३ जनालाई ललाइफकाई करणी गरेको पाईएको छ भने ०७४÷०७५ मा करिब ८३ देखाइएको छ । डरत्रास देखाएर करणी गर्ने घटना पनि केही बढेको तथ्याङ्कमा उल्लेख छ ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार जबरजस्ती करणी अपराधमा संलग्न पीडक र पीडित दुवै एकै उमेरका रहेका छन् । १६ वर्ष मुनिका पनि करणीमा संलग्न रहेपनि उनीहरुको संख्या निकै थोरै छ । सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेरका व्यक्तिहरु करणीमा संलग्न रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments