पक्षघात पीडित महेन्द्र गुरुङलाई ७ लाख रुपैया सहयोग

विगत १६ वर्षदेखि पक्षघातबाट पीडित कास्की लान्द्रुकका ३७ वर्षिय महेन्द्र गुरुङलाई शनिवार करिब ७ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । पाल्जै चेलिवेटी परिवार तथा लामा अमृत फाउण्डेशनद्वारा पोखरामा पत्रकार सम्मेलन गरी पीडित महेन्द्र गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

पाल्जै भाइखलकका अध्यक्ष भोवर पाल्जै गुरुङ, पाल्जै चेलीबेटीकी विविमाया गुरुङ, लामा अमृत फाउण्डेशनका अध्यक्ष लामा अमृत गुरुङ र पाल्जै भाइखलकका सहसचिव राजबहादुर गुरुङले ६ लाख ९१ हजार ५४२ रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो ।

पाल्जै चेलीबेटी, भाईखलक परिवार एवं युके, जापान, हङकङ, कोरिया, साइप्रस, दुवई र लामा अमृत फाउण्डेशनको तर्फबाट सहयोग जुटाइएको हो । यस अघि विभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग ३ लाख १८ हजार ९५० रुपैया समेत गरी कुल १० लाख १० हजार ४९२ रुपैया पीडित महेन्द्र गुरुङ र राजबहादुर गुरुङको संयुक्त रुपमा बैंक खातामा जम्मा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पीडित गुरुङका लागि बस्ने घर, खाना बस्न, स्याहार सुसार र उपचारका लागि समस्या भएकाले भाइखलकको बैठकबाट उक्त सहयोग रकम कहाँ कसरी खर्च गर्ने निर्णय गरिने बताइएको छ ।

पाल्जै भाईखलकका अध्यक्ष भोवर पाल्जै गुरुङका अनुसार पीडित महेन्द्र विसं २०३८ साल र भाई सोमबहादुर २०४१ मा जन्म पश्चात भारतीय सेनामा कार्यरत बुबाले दुई छोरा र श्रीमतीलाई ससुराली घान्द्रुक उरी गाँउमा २०४२ मा राखी भारत गएपश्चात हालसम्म कुनै सम्पर्क नभएको, आमाले पनि दोश्रो विवाह गरेपश्चात साहारा विहिन महेन्द्र र सोमलाई लान्द्रुकमा बाजेले लालनपालन गर्दै आएको जानकारी दिनुभयो । बाजे बजैको देहवसान पश्चात बस्न र खानपिनमा समेत समस्या रहेको थियो।

२०५९ सालमा लान्द्रुकमा घाँस काट्दा रुखबाट लड्दा मेरुदण्ड भाचिएर महेन्द्र गुरुङ पक्षघातबाट पीडित र साहार विहिन रहेको उहाँले जानकारी दिनुभयो । पीडित महेन्द्र गुरुङले आफ्नो उपचार र गाँउवासका लागि सहयोग गरेकोमा सबै सहयोगी संस्था र महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Facebook Comments