गूर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ । गूर्जा हिमाल आरोहणमा गएको हिमपहिरो र आँधीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना मध्ये ८ को शव शनिबार बिहान फेला परेको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ ।

आरोहणमा गएका मध्ये ५ विदेशी सहित ४ जनाको नेपालीे टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेर शुक्रबार बेपत्ता भएका थिए । दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वको ५ जना कोरियन नागरिक गूर्जा हिमाल आरोहणमा गएका थिए ।

हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभाका ३९ वर्षीय छिरिङ भोटे, २१ वर्षीय लाक्पा सोङवु भोटे र फुर्वु भोटे तथा स्थानीय गुर्जाका नेत्रबहादुर छन्त्यालको पनि हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दक्षिण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङ मो जियोङको मृत्यु भएको बताइएको छ । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट गुर्जा हिमाल चढ्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बुढा अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो ।

टोलीमा नेपाली भरिया गुर्जा गाउँकै स्थानिय बासिन्दा रहेको वताईएको छ । उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएकोमा उनीहरुले टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु देखेपछि शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

केहीको शव टेन्टभित्र र केहीको शव टेन्ट बाहिर भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल पुगेर फर्किएका गुर्जाका श्रीप्रसाद छन्त्यालका अनुसार शवहरु क्षत विक्षत् अवस्थामा छन् भने टेन्टहरु यत्रतन्त्र छरिएका छन् ।

सिम्रक एयरको हेलिकप्टरबाट उनीहरुको शव ल्याउन तयारी गरिएपनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको प्रदेश प्रहरी प्रहरी कार्यालय गण्डकीका प्रमुख, डिआइजी दानसिंह बोहराले जानकारी दिनुभयो ।

उद्धारका लागि शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि पुनः हेलिकोप्टर पठाइने बोहराले वताउनुभयो । दुर्घटनास्थल पुग्न बेनीदेखि ४ घण्टा गाडी र ८ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप ५ घण्टा हिड्नु पर्दछ । वि. सं २०६५ सालमा चुरेन हिमाल आरोहण भएपछि त्यसयता पहिलोपटक यो टोली हिमाल आरोहणका लागि आएको थियो ।

Facebook Comments