स्याङ्गजाका स्थानीय तहमा नेकपाको संयन्त्र गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्गजाले पार्टीको गाउँपालिका तथा नगरपालिकामा संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य एवं स्याङ्गजा जिल्ला संयन्त्र सदस्य पद्मा अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो । गाउँपालिकामा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट ३ र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट ३ गरी ६ सदस्यीय तथा नगरपालिकामा दुवै तर्फबाट ४÷४ जना गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा पार्टीका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे र सचिव गोबिन्दबहादुर नेपालीले पछिल्लो राजनीतिक अवस्था, पार्टीले लिएका निर्णय लगायतका विषयमा निर्देशनात्मक प्रशिक्षण दिनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गठित संयन्त्रमा नेतृत्व आलोपालो प्रणालीमा हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ भने विजयादशमी, दीपावली लगायतका पर्वका अवसरमा शुभकामना पनि व्यक्त गरिएको छ ।

Facebook Comments