गुर्जा हिमालमा हिमपहिरोमा निधन भएका ८ जनाको शव काठमाण्डौ लगियो म्याग्दीका नेत्रबहादुर छन्त्यालको शव परिवारको जिम्मा

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनाको शव संकलन गरिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली गरी ९ जनाको शव संकलन गरिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ ।

शव अफ्टेरो ठाउँमा रहेकाले आवश्यक उद्दार सामाग्री सहित आइतबार पुगेको उद्दारकर्ताको टोलीले शव संकलन गरेको हो । संकलित शवमध्ये स्थानीय एकजनाको म्याग्दीको बेनी अस्पतालमा र बाँकी ८ जनाको हेलिकप्टर मार्फत् काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।

असोज २१ गते सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीनजना नेपाली टोली आधार शिविरमा पुगेका थिए । सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियाली नागरिक आधार शिविरमा पुगेका थिए ।

आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाका स्थानीय खोजीका लागि आधारशिविर तर्फ गएका थिए । स्थानीयले शवहरु यत्रतत्र छरिएको देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । असोज २४ गते नै दुर्घटना भएको आशंका गरिएको छ ।

मृत्यु हुनेमा दक्षिण कोरयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङ रहेका छन् । त्यस्तै नेपालीहरु संखुवासभा भोटखोला गाउँपालिकाका छिरिङ भोटे, देना आङजुक भोटे, फुर्बु भोटे र म्याग्दीको धौलागिरि गाउँपालिकाका नेत्रबहादुर छन्त्यालको पनि मृत्यु भएको छ ।

चोससंगै पदयात्रामा आएका जोन मो जोइङलाई लिएर गएका गुर्जाका नेत्रबहादुर छन्त्यालले २४ गते आधार शिविरबाट सम्र्पक गरेका थिए । पदयात्रामा आएका दक्षिण कोरियाका हङ जियोन चोस र गाइड लाक्पा शेर्पा भने गुर्जामै सुरक्षित छन् । चोस बिरामी भएपछि लाक्पा र उनी गुर्जामै बसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकको शव भेटिएको गुर्जाका स्थानीयवासीबाट खबर आएपछि उद्दार कार्य भइरहेको जानकारी दिनुभयो । वहाँका अनुसार शव अफ्टेरो खोंचमा रहेको र उद्दार सामाग्री पनि नभएकाले शनिबार उद्दार हुन नसकेको हो । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो ।

Facebook Comments