धर्मका सकारात्मक पक्षलाई सम्बर्द्धन गर्दै चाडलाई सरल बनाऔं

राज शर्मा

हिन्दु धर्म अवलम्वन गर्नेहरुका लागि सबैभन्दा महत्वपूर्ण पर्वका रुपमा विजया दशमी अर्थात् बडादशैं नजिकै आइरहेको छ । हिन्दु धर्ममा आस्था राख्नेहरुप्रति यस पर्वका अवसरमा सुख, शान्ति र सम्बृद्धिको मंगलमय शुभकामना । तर यो शुभेच्छा मात्र हो । पक्कै पनि सदाशयले मानिसलाई सकारात्मक कामका लागि उत्प्रेरणा भने मिल्छ । बाँकी आ–आफ्नो कर्ममा निर्भर हुन्छ ।

भगवान या ठुला बडाको आर्शिवादले मात्र विना कर्म फल मिल्न सक्दैन । शताव्दीयौंदेखि पुर्खाको पालादेखि मनाउँदै आएका हाम्रा परम्परा त दैनिकी जस्तै बनेका छन् । आधुनिकताको जति नै विकास होस् हाम्रा रीति रिवाज संस्कृतिहरु पुरानै ढर्रामा सीमित छन् । धार्मिक अन्धविश्वास, धर्मका कारण भैरहेको बैभवलाई कम गर्नेतर्फ धार्मिक अगुवाहरुको विशेष पहल हुन आवश्यक छ ।

आज विश्वमा जति पनि द्वन्द भइरहेको छ तीमध्ये अधिकांश धर्मसँग जोडिएका छन् । गरिवी र अभावका कारण पनि द्वन्द त भएकै छ तर पनि धर्मका कारण मानिस मानिसमा जे जति बैभव र द्वन्द भएको छ, त्यो धार्मिक मुल्य मान्यता विपरीत छ । अभावका कारण हुने द्वन्द र धर्मका नाममा हुने द्वन्द अवश्य पनि फरक फरक रहेका छन् । के हिन्दु धर्मशास्त्रले अर्को कुनै धर्म समुदायको मानिसलाई हेला होचो गर्न भन्छ र ? हिन्दु धर्मभित्रै पनि जातीय प्रथा के आधुनिक मानव सभ्यता सुहाउँदो छ र ? छुवा छुत उचो निचो किन आजको आधुनिक समाजमा पनि भइरहेको छ ।

हुनत सामाजिक साँस्कृतिक मुल्य मान्यताहरु कानुनभन्दा पनि बलियो हुने गर्दछन् । समयक्रममा परिवर्तन हुदैं जान्छ । तथापि सकारात्मक पहलकदम भने आवश्यक हुन्छ । ६–७ कक्षामा अध्ययन गर्दाको कुरा अहिले पनि याद आउँछ एकजना दलित समुदायका व्यक्तिले भन्नुहुन्थ्यो,–‘यो जात भन्ने त जनावरमा हुन्छ, यो मानिसमा होइन् । के गोरु या राँगा र भैंसी या गाईवीचको प्रजनन कार्यबाट बाच्छा बाच्छी या पाडा पाडी सम्भव छ ? तर दलित समुदाय या कुनै पनि समुदायको स्त्री र पुरुषवीचको यौन सम्बन्धबाट त बच्चा सम्भव हुन्छ ।’ कतिपय अन्तरजातीय विवाहबाट त्यसको पुष्टी भइरहेकै पनि छ ।

तर पनि समाजमा छुवाछुत किन यतिधेरै जकडिएर रहेको छ ? यस विषयमा हामी मानिसले गम्भीर भएर विचार विमर्श गर्न जरुरी छ । समाजमा विद्यमान भेदभाव र छुवाछुतको अवस्था धर्मको विकृत पक्ष हो । सबैलाई समान व्यवहार गर भन्ने धार्मिक सिद्धान्त विपरीत फरक धर्म, फरक समुदाय, फरक वर्गीय अवस्था भएका नागरिकहरुवीचको यो विभेदले मानव सम्भयतालाई नै गिज्याईरहेको छ ।

यस्तै असमान व्यवहारले नै समाजमा द्वन्द बढेको हो । यदि हामीले मानिसलाई समान व्यवहार र सम्मान गर्ने संस्कारको विकास गर्न सक्यौं भने कतिपय द्वन्द आफैं समाधान भएर जानेछन् । अहिले त पहुँच र शक्ति कसरी आफ्नो पक्षमा पार्ने भन्ने सोचको मात्रै विकास भएको छ । हाम्रा धर्म संस्कृतिले त सबैलाई समान एवं सम्मानपूर्ण व्यवहार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ ।

दानवीय शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको प्रतिकका रुपमा दशैंलाई लिईन्छ । यसर्थ अन्याय र असमानता हटाउनेतर्फ जागरुक बनेमात्र यस्ता पर्वहरुको गरिमा उचो हुन्छ । यसर्थ यसपटकको वडादशैंले धार्मिक विकृतिहरुलाई केही मात्रामा भएपनि कम गर्ने तर्फ सबैको प्रयत्न होस्, फगत औपाचारिकतामात्र नबनोस् । धर्मलाई समयसापेक्ष विकास गरौं । यसलाई पुरातन ढंगले नै हेर्नुपर्छ भन्ने केही छैन् । सकारात्मक पक्षलाई ग्रहण गरौं नकारात्मक पक्षहरुलाई हटाउँदै लैजाउँ ।

जो सुकै नागरिकलाई पनि आफुले चाहेको धर्ममा आस्था राख्न पाउने या नास्तिक बन्ने अधिकार छ । नास्तिक या फरक धर्ममा आस्था राख्नेहरुको स्वतन्त्रतालाई पनि सम्मान गर्न सक्यौं भने समाजमा सुख, शान्ति र सम्बृद्धि कायम गर्न मद्दत पुग्ने निश्चित छ । धर्म भनेको एकप्रकारको विधान हो । परापुर्व कालमा भुगोलको सीमा थिएन, समाज विकास भइसकेको थिएन ।

समाज विकासको क्रममा धर्मले मानिसलाई अनुशासित बन्न, अरुको आदर गर्न एउटा निश्चित परिधिमा रहन अर्थात् भूगोल, मानिस स्वयंको सीमा निर्धारण गर्नका लागि सहयोग गरेको हो । तर धर्मको विकाससँगै सकारात्मक मात्र नभई नकारात्मकता मात्र विकास भएको पाइन्छ । धर्म संस्कृतिमा रहेका नकारात्मक पक्षलाई हटाई सकारात्मक पक्षको संरक्षण एवं सम्बद्र्धन गर्न जरुरी छ ।

चाडपर्वलाई सवैले सामन्य रुपमा मनाउन पाउने व्यवस्था सिर्जना गर्न जरुरी छ । सुख, शान्ति सम्वृद्धिको कामना गर्ने तर यही पर्व मनाउनका लागि हजारौं ऋण लिनुपर्ने, समाजले के भन्ला भन्ने मनोविज्ञानका कारण ऋण गरेरै भएपनि महंगा लत्ताकपडा, खसीच्याङग्रा आफ्नो आर्थिक अवस्थाले नभ्याउने अवस्थामा पनि लिनुपर्ने बाध्यताको अन्त्य हुन जरुरी छ ।

२/४ दिनको तडक भडकपूर्ण व्यवहारले हाम्रो समाजका कैयौं परिवारलाई वर्षौसम्म आर्थिक बोझले थिच्ने अवस्थाको अन्त्य हुन जरुरी छ । समाजले के भन्ला, छिमेकीको देखासिकी भन्दा पनि आफ्नो आर्थिक अवस्था के कस्तो छ त्यही हिसावले चाडपर्व मनाउने र रमाउने अवस्था सिर्जना हुन सकेमा मात्र सबै नागरिकमा खुशी, सद्भाव कायम हुन सक्छ अन्यथा कसैलाई खुशी नै खुशी कसैलाई हीन भावनाले ग्लानी गराउने र दुःखद घटनातर्फ अभिप्रेरित गर्न सक्छ । यसका लागि सबै जिम्मेवार बन्न जरुरी छ ।

Facebook Comments