लिगलिगे दौडमा अनिष थापालाई तेस्रोपटक उपाधि

पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जित्नुभएको छ । पालुङटारको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी जित्नुभएको हो ।

थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो । उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गराइएको छ ।

प्रतियोगितामा निर्धारित दुरी ५८ मिनेट ४० सेकेण्डमा पार गर्दै वाग्लुङका तीर्थ पुन दोस्रो तथा ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको अभियानका सचिव सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम, खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका आयोजकले जानकारी दिएको छ । पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि २०६७ साल देखि बर्षेनी प्रतियोगिता हुँदै आएको छ ।

Facebook Comments