नवरात्रमा शक्तिपीठमा पुजा आरधना गरिदैं

नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा पुजाआजाका दर्शनार्थीको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठ र पोखराको विन्ध्यबासिनी, कास्कीकोटमा रहेको गुप्तकालिकामा बिहानैदेखि दर्शनार्थीहरुको भीड देख्न सकिन्छ ।

पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, पाल्चोक र नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्र देवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, बल, बुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैगरी घटस्थापनाका दिन घरघरमा शुरु भएको दशैँ घर वा पूजा कोठामा आज नवरात्रको छैटौं दिन नवदुर्गामध्येकी देवी कात्यायनी माताको पूजा आराधना गरि मनाईंदैछ । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ ।

हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । पहिलो दिन अर्थात् असोज २४ गते घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्द माताको पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

Facebook Comments