शाहवंशका पहिलो राजा यशोब्रह्मको शालिक अनावरण

ऐतिहासिक लमजुङ दरबार परिसरमा शाहवंशका पहिलो राजा यशोब्रह्म शाहको अर्धकदको शालिक अनावरण गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहर दरबारमा उहाँको शालिक अनावरण गरिएको हो ।

बेँसीशहर उदिपुरमा रहेको श्रीजङ्ग गणले निर्माण गरेको शाहको शालिकको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज अनावरण गर्नुभएको हो । नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा कार्यरत ओखलढुङ्गाका हवल्दार माधव पौडेलले तीन महीना लगाएर उक्त शालिक निर्माण गर्नुभएको थियो ।

उहाँका अनुुसार शालिकमा बाहिरी भाग पितलको रहेको छ भने शालिकको वजन ६५ किलोग्राम रहेको छ । पौडेल ललितकला क्याम्पसबाट मूर्तिकलामा स्नातकोत्तर गर्ने पहिलो सैनिक हुनुहुन्छ । श्रीजङ्ग गणले कालिका मन्दिरमा पुरानो निशानको फर्दा फर्ने कार्य, मन्दिर परिसरमा अर्थिङको, नयाँ मौलोको निर्माण, निशान राख्ने दराज र मन्दिरमा बगैँचा निर्माण गरेको श्रीजङ्ग गणका गणपति शेखर जबराले जानकारी दिनुभयो ।

विसंं १५५० मा शाहवंशीय पहिलो राजा यशोब्रह्म शाहले राजगद्दी सम्हालेका थिए । वर्षमा दुईपटक बडादशैँ र चैतेदशैँको महाअष्टमीमा लमजुङ दरबारको कालिका मन्दिरमा पूजापाठ हुने गर्दछ । यसमा सरकारी बलि दिने प्रचलन रहिआएको छ । महाअष्टमीको अवसरमा विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

Facebook Comments