लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको विषयमा अमेरिकी चासो अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी अरेबिया भ्रमणमा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुग्नुभएको छ । उहाँले साउदी राजा सल्मानसँग भेटवार्ता गर्नुभएको छ ।

टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश गरेका लेखक जमाल खसोग्गी त्यसयता बेपत्ता छन् । विवाद बढ्दै गएपछि टर्कीका अधिकारीहरुले दूतावासभित्र खोजतलास गरेलगत्तै विदेशमन्त्री पोम्पेओ साउदी अरेबिया पुग्नुभएको हो । प्रहरीले दोस्रो खोजी कार्य पनि गर्ने टर्कीको विदेश मन्त्रालयले जनाएको छ ।

टर्कीका अधिकारीहरुले खसोग्गीलाई दूतावासभित्रै हत्या गरिएको र त्यहीँभित्र गाडिएको आशङ्का गरेका छन् । साउदी अरेबियाका अधिकारीहरुले भने टर्कीको आरोप आधारहीन रहेको बताउँदै आएका छन् । तर अमेरिकी सञ्चारमाध्यमले साउदी अरेबियाले दूतावासभित्रै खसोग्गीको हत्या भएको स्वीकार गरेको जनाएका छन् ।

पोम्पेओ रियाद पुग्दा साउदी अरेबियाका विदेशमन्त्री अब्देल अल–जुबेरले स्वागत गर्नुभएको थियो । त्यसलगत्तै राजदरबार पुग्नुभएका पोम्पेओलाई साउदी राजा सल्मानले स्वागत गर्नुभएको थियो । राजा सल्मानसँग भएको कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले ‘दुष्ट हत्यारा’ले खसोग्गीको हत्या गरेको हुनसक्ने जानकारी दिनुभएको थियो ।

ट्रम्पको उक्त जानकारी सार्वजनिक हुनासाथ विश्वभरबाट साउदी अरेबियाको आलोचना भइरहेको छ । ट्रम्पले राजा सल्मानले खसोग्गीको हत्याबारे आफूलाई बिल्कुलै थाहा नभएको प्रतिक्रिया दिएको बताउनुभयो ।
–––

Facebook Comments