राष्ट्रपति र प्रधानमन्त्रीद्वारा टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरूले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Facebook Comments