कुटपिटको घटनामा संलग्न ६ जना पक्राउ

कास्कीमा कुटपिटको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा रहेको हिमाली आधारभुत विद्यालयमा कात्तिक ३ गते भएको मैत्रीपूर्ण खेलका दौरान भएको विवादमा कुटपिटको घटना भएको थियो ।

दिउसो भएको सामान्य विवादलाई लिएर मिर्सा गाउँका युवाहरुले रुम्जा गाउँका नागरिकमाथि आक्रमण गरेका थिए । लाठी प्रहारबाट रुम्जाकी चन्द्रकुमारी पुन, धनबहादुर मगर, आनन्दकुमार पुन र सुजन पुन सख्त घाइते भएका थिए ।

उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न मिर्साका ३० बर्षीय खजना गुरुङ, २० बर्षीय विधान गुरुङ, २४ बर्षीय दले गुरुङ, २५ बर्षीय लक्ष्मण गुरुङ, २२ बर्षीय उमेश गुरुङ र ३० बर्षीय हिमाल गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments