वर्डक्याम्प पोखरा २०१८ आगामी नोभेम्बर २४ मा हुने

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प पोखरा’ पहिलो पटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई हरेक वर्ष आयोजना हुँदै आएको छ भने राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले पर्यटकीय शहर पोखरामा कार्यक्रम गर्न लागेको हो ।

इन्टरनेटको दुनियाँमा विश्वमा निर्माण हुने वेवसाइटहरुको ३० प्रतिशतभन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइने एक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशतभन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको उल्लेख छ ।

वर्डप्रेस सामान्य र व्यक्तिगतब्लग लेख्न देखि, ठुला ठुला समाचारमूलक वेवसाइट, इ कमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात छ ।

यो कार्यक्रममा वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र कामगर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग कामगरि ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने बताइएको छ ।

कार्यक्रममा ४०० जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । वर्डप्रेस समुदायमा आधारित भएको हुनाले विश्वका विभिन्न देशका वर्डप्रेस प्रयोगकर्ताहरुको समेत उल्लेख्य सहभागिता रहने आयोजकको दावी छ । वर्डप्रेस निशुल्क रुपमा पाइने बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ ।

Facebook Comments