बैङ्क ब्याजदरमा बृद्धिले अर्थतन्त्रमा जोखिमः राष्ट्रपति ट्रम्प

अमेरिकामा बैङ्कको ब्याजदरमा बृद्धि गर्ने विषयमा विवाद देखिएको छ । केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेल ब्याजदर बृद्धि गर्ने पक्षमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बन्नुभएको छ । बैंक ब्याजदर वृद्धिले आर्थिक जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको जिकीर रहेको छ ।

राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताउनुभएको छ । उहाँले गत साता पनि केन्द्रीय बैंक (फेडरल रिजर्भ) नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले पावेलको हिँडाई आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिनुभयो । अमेरिकी केन्द्रीय बैंकले यसै बर्षमात्र ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । अर्थतन्त्रलाई नियन्त्रणमा राख्नका लागि ब्याज बढाउनुपरेको बताइएको छ । डिसेम्बरमा पुनः ब्याजदर शून्य दशमलब २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

राष्ट्रपति ट्रम्पले ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने बताउँदै आउनुभएको छ । अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४.२ प्रतिशत पुगेको छ र यो चारवर्ष यताकै सबैभन्दा उच्च हो ।

Facebook Comments