जीवन संघर्ष : न्यापकिन देउ त, कति प्लेट ? २ प्लेट लेउ ३७ बर्षको उमेरमा ३५ ठाउँमा रोजगारी, अहिले आफ्नै फार्ममा रमाउँदै

तास माग्दा जुवा खेल्ने तास भुटभाट पारेर लगिदिएको कहानी टेलिफिल्ममा कथाका रुपमा प्रस्तुत गरिन्छ । तर पर्वतका रामले होटलमा आउने ग्राहकले खाजा सेट तास माग्दा खेल्ने तासको सेट लगेर दिनुभयो ।

त्यस्तै न्यापकिन पेपर माग्दा कति प्लेट भनेर सेवाग्राहीलाई सोध्दा ति ग्राहकले हाँस्दै २ प्लेट अर्डर गरेको सम्झँदा राम आफैं हाँस्नुहुन्छ । हुन पनि ग्रामीण परिवेशमा हुर्किएका रामलाई सहरमा खाने तास सेट हुन्छ, हातमुख पुछ्ने न्यापकिन हुन्छ भन्ने थाहा थिएन ।

गोजीमा पैसा ४ सय रुपैयाँ भएपनि पोखराबाट स्याङ्जा जाने क्रममा बेलुकी खाना बस्ने चिन्ताले गर्दा गाडी भाडा नदिने सोचका साथ ५ स्थानमा गाडीबाट झदैै अर्को गाडीमा चढेर स्याङजा पुगेको घटना पनि रोचक छ । कन्डक्टरले पैसा माग्न आउँदा छैन भनेपछि गाडीबाट झारिदिएका छन् । कतिपय स्थानमा आफैं पनि गाडीबाट सचेत ढंगले झरेको बताउनुहुन्छ राम ।

यस्तै हण्डर खादैं जीवनका ३७ बसन्त पार गरिसक्नुभएका रुक्मागंत सापकोटा अर्थात् रामले अहिले आफ्नै भैसी फार्म सन्चालन गरिरहनुभएको छ । सापकोटा विगत एक बर्षदेखि आफ्नै भैसी फार्ममा रम्न थाल्नुभएको हो ।

पोखरा विरौटाचोकबाट करिव १.४ किलोमिटरको दुरीमा चलनचल्तीको नाम विरौटा फाँट छ । उक्त फाँट धानखेती गर्ने पोखरेलीको कुँडहर फाँट जस्तै अर्को फाँट हो । पछिल्लो समय बढ्दो शहरीकरणले गर्दा कुँडहर फाँट लगभग घरहरुले भरिए भने विरौटा फाँटको पनि त्यही नियति दोहोरिंदैछ । त्यही विरौटा फाँटमा एउटा सानो लगानीमा सापकोटाले भैसीं फार्म सञ्चालन गर्नुभएको हो । सापकोटा साथीहरुमाझ भने राम गुरु भनेर परिचित हुनुहुन्छ ।

उहाँ करिव ५ बर्ष कोरियाको रोजगारीपछि स्वदेश फर्केर कठोर परिश्रमका साथ केही गरौं भनेर लाग्ने प्रतिनिधि पात्र मध्येकै एक हुनुहुन्छ । शुरुमा अरुको जग्गामा तरकारी खेती गरेर स्थानीयलाई विक्री गर्नुभएका रामले पछि भैंसीको दुधमा संभावना देखेपछि १ वटा भैसीबाट व्यवसाय शुरु गर्नुभयो । त्यसपछि गाउँतिरबाट साना लोकल तथा पोखरामै पनि मुराँ भैंसी खरिद गरेर अहिले १० वटा दुधालु भैसी छन् । एउटा राँगो साना पाडापाडी गरी १७ वटा रहेका छन् । दैनिक सरदर ५० देखि ६० लिटर दुध उत्पादन हुने गरेको छ । दुधको माग धान्न धौ धौ भएको छ । धेरैजसो दुध घरमा नै लिन आउँछन् । केहीलाई डेलिभरी पनि दिनुपर्छ ।

लगानी अभावका कारण फार्म विस्तार गर्ने रामको इच्छा पुरा हुन सकेको छैन् । कम्तिमा पनि ५० वटासम्म भैसी पाल्ने र दैनिक ५०० लिटर सम्म दुध उत्पादन गर्ने लक्ष रहेको छ । जसका लागि तत्काल ३५–४० लाख रकम आवश्यक परेको छ । सस्तो व्याजमा लोन मिलेमा पनि काम चल्ने थियो । लगानी गर्ने पैसा नहुँदा गाह्रो भयो, रामलाई सँगै काममा होस्टेमा हैँसे गर्ने जीवनसाथी हिराको भनाई छ ।

लगानी र अन्य वातावरण मिलेमा लाखौं रुपैयाँ आम्दानी गर्न सकिने उद्दाहरण बन्नुभएको छ राम । फार्ममा आफैं विहान ४ बजेदेखि खटिनु र गोठ तथा भैंसीलाई सफा राख्नु रामको दिनाचर्या बनेको छ । उहाँले बजार व्यवस्थापनको जिम्मेबारी भने श्रीमती हिरालाई सुम्पनुभएको छ । लिने दिने घरमा के आवश्यक मलाई चासो छैन्, आवश्यक पर्दा श्रीमतीसँग खर्च माग्छु । सबै व्यवस्थापन श्रीमती हिराबाट नै हुने गरेको छ ।

स्वभाव भने निर्णय गरेपछि पछाडि नह्टने खालको छ । त्यही स्वभावले गर्दा नै आजको अवस्थामा आइपुगेको छ जस्तो लाग्छ रामलाई । ग्रामीण परिवेशमा सामान्य परिवारमा जन्मनुभएको रामको प्रगतिलाई सन्तोषजनक नै मान्नुपर्दछ । गाउँलेहरु रामको मेहनत गर्ने र इमान्दारीपनलाई सम्मान एवं विश्वास पनि गर्दछन् ।

भैंसीपालन मात्र नभई करिव १० रोपनी क्षेत्रफलमा धान समेत रहेको छ । धान लह लह झुलेको छ, आफूलाई चाहिने चामल किन्नु पर्दैन । धान लगाउँदा दोहोरो फाइदा भएको छ रामलाई भैंसीका लागि पराल एकातर्फ भने अर्को तर्फ घरमा प्रयोग गर्नका लागि चामल ।

भैंसी पाल्ने सोच भने छोरा सिर्जनका कारण पनि हो । ९ बर्षीय छोरा सिर्जनलाई दुध घिउ भनेपछि अत्यन्तै मन पर्ने । खानामा थोरै घिउ दिंदा खुशीका साथ खाने भएपछि भैंसी पाल्ने र इच्छा अनुसार दुध घिउको व्यवस्थापन गर्ने सोच आएको हो ।

२०७४ साल पौषबाट भैंसी पाल्न थाल्नुभएका रामले फार्म धान रोप्ने खेत तथा फार्मका लागि जग्गा भाडामा लिनुभएको छ । मेहनत धेरै गरेको देखिन्छ तर खासै दुःख छैन विहान बेलुकी ३/४ घण्टाका दरले काम गरे हुने राम बताउनुहुन्छ । कोरियामा गरेको दुःख हेरी यो के हो र ⁄ रामलाई कामबारे कसैले प्रश्न गरेमा पाउने उत्तर हो यो । ‘अरुको देशमा मेसिन सरह काम गर्नुपर्छ । यहाँ त आफ्नो योजना अनुसार स्वतन्त्र भएर काम गरिएको छ कमाई पनि भएको छ ।’–रामले भन्नुभयो ।

जीन्दगी कसरी रमाउने भन्ने पनि होला । राम आफ्नो जीवनलाई कृषि कर्ममै रमाउने कोशिष गर्दै पाइला सार्दै हुनुहुन्छ । राज्यले यस्तो केही गरौं भन्ने भावनालाई सम्मान गर्न सक्नुपर्दछ ।साथीभाईलाई पर्दा सहयोग गर्ने रामको मेहनत देखेर दङ्ग पर्दै भन्छन् कसरी सक्नुभएको हो ? उहाँको उत्तर हुन्छ गरे सकिन्छ ।

मानिसको जीवनमा धेरै उतार चढाव आउने गर्दछन् । उतार चढाव घुम्ती नहुँदा हुन् त जीन्दगीको सौन्दर्यता पनि नहुँदो हो । सुख दुःख भन्ने बिषय त अनुभूति गर्ने विषय पनि हो । कुनै मानिसलाई अत्यन्त दुःखद अनुभूति हुने बिषय अर्को मानिसलाई सुखको अनुभूति गराउन पनि सक्छ । ३७ बर्ष अगाडि पर्वतको पैयुँ गाउँपालिका वडा ६ काहुँमा (साविक सरौंखोला ८ पर्वत)मा जन्मनुभएका रुक्मागंत सापकोटा ‘राम गुरु’लाई चिन्नेहरुले इमान्दार र मेहनतीका रुपमा चिन्ने गर्दछन् ।

उनै रामको जीन्दगीले कति घुम्ती पार गरे होलान् सम्झन पनि गाह्रो हुने बताउनुहुन्छ उहाँ । बाल्य काल गाउँमा नै वित्यो । एसएलसी दिएपछि कामको खोजीमा चलनचल्तीको नाम बटौल(बुटवल) तिर हानिनुभयो । उक्त स्थानमा भन्नेवित्तिकै शहरको केही मेसो नपाएको गाउँले केटोलाई कसले काम दिने ? २ दिन त सडककै बास भयो । साथमा लगेको भारु १ सय पनि सकियो । एउटा चिनजानको साथीले ११ दिन सँगै राखेर ठूलो गुन पनि लगाए । पछि एउटा रेष्टुरेन्टमा वेटरको काम गर्न शुरु भयो । रेष्टुरेन्टको मासँग अँग्रेजी भाषा सिक्न थाल्नुभयो ।

पर्यटक आउने सहर पोखरामा ट्याक्सी चलाउने सोचाईका साथ अँग्रेजी सिकेपनि व्यवहारमा त्यो लागू हुन भने सकेन । २ महिनापछि पुनः अर्को होटलमा काम गर्दै कम्प्युटरबारे आधारभूत र डिप्लोमासम्मको अध्ययन गर्नुभयो । र कम्प्युटर पढाउन थाल्नुभयो । जसले गर्दा आम्दानी पनि राम्रो हुन थाल्यो र जिविकोपार्जन पनि सहज हुन थाल्यो । करिव ३ बर्षको बुटवल बसाई चटक्कै छाडेर राम पुनः गाउँ पुग्नुभयो ।

बुटवल बस्दा उहाँले प्राविधिक विषय कम्प्युटरको आधारभूत शिक्षा भने लिनुभयो । जस्ले गर्दा उहाँलाई एउटा प्राविधिक लाइनमा लामो समयसम्म अडिन मद्दत पुग्यो । गाउँ फर्केर १९ बर्षको उमेरमा गोठमा बाख्रा, गाई भैंसी पालेर बस्नुभयो । विन्दास रामलाई आफैंले पालेका बोका बाख्रा काटेर मेलाका दिनमा भोज लगाउने र रमाइलो गर्ने स्वभावले अहिले पनि गाउँलेहरु सम्झने गर्दछन् ।

१ बर्षपछि कतिपय गाईबस्तु सित्तैमा अरुलाई दिएर फेरि रोजगारीका लागि फेरि पोखरातर्फ आउनुभयो । पोखरामा पनि काम नमिलेपछि स्याङ्जा जानुभयो । पाउरोटी कम्पनी र फर्निचर, मिल र फोटो स्टुडियोमा १ बर्षजति काम गरेपछि पुनः घर गएपछि केही महिनाको अन्तरालमा फेरि पोखराले नै मन तान्यो र पोखरा हानिनुभयो ।

जागिरको खोजीमा हिड्दाका रोचक कहानी छन् । पोखराको प्रतिष्ठित अफसेट प्रेसमा काम गरेर तलव बुझ्ने दिनमा साहुले तपाईंको खाजाको पैसा र हामीले दिने तलवमा उल्टो तपाईंले २०० रुपैयाँ तिनुपर्ने भयो, त्यो भैगो भनेपछि रामले म अहिलेबाट नै काम गर्दिन भनेर निस्केको सम्झँदा अहिले पनि अनौठो अनुभूति हुन्छ रामलाई ।

त्यसपछि लामो समय कम्प्युटरमा डिजाइनिङको काम गर्नुभयो । टाइप गर्ने, फोटोसप तथा विभिन्न सफ्टवेयरमा डिजाइन गर्ने काममा पोखराका आधा दर्जन जति अपसेटमा काम गर्ने रामले सञ्चार क्षेत्रमा पनि प्राविधिकका रुपमा काम गर्नुभयो । पोखरामा दर्जनौ पत्रिकाको डिजाइनिङदेखि लिएर रेडियो तथा टेलिभिजनका प्राविधिकका रुपमा पनि काम गर्नुभयो ।

प्राविधिक क्षमता राम्रो भएपनि खान लाउन काम चल्ने तर जीवनमा आर्थिक रुपमा समस्या नटर्ने देखेपछि २०६७ सालतिर कोरियन भाषा सिक्न थाल्नुभयो । दिमाग तेज भएर नै होला कोरियन भाषा परिक्षामा सफल हुनुभयो २०६८ सालमा कोरिया जानुभयो । करिव ५ बर्ष कोरियामा कठिन परिश्रमका साथ काम गर्नुभयो ।

शुरुमा कवाडी संकलन केन्द्रमा सामन वर्गीकरण गर्ने र पछि एउटा गाडीको पाटपुर्जा उत्पादन गर्ने कम्पनीमा काम गर्नुभयो । त्यसो त त्यही परिश्रमले गर्दा नै पोखरामा जग्गा र घर जोडिएको छ र परिवार सुखका साथ अगाडि बढ्दैछ ।

जीवनमा ३७ बर्ष पार गर्दा ३५ स्थानमा रोजगारी गर्नुभएछ रामले । शुरुमा रेस्टुरेन्ट र होटलमा भने खाना बस्न सहित अँग्रेजी भाषा सिकाईदिने र कम्प्युटर सिकाईदने शर्तका काम थाल्नुभएको थियो । बुटवलमा कम्प्युटर इन्स्टिच्यूटमा पढाउँदा र स्याङ्जामा फोटो स्टुडियोमा कम गर्दा २० बर्ष पहिले पनि राम्रै कमाई थियो ।

तर ती काम सबै अस्थायी भए । अंकलसँग घुम्न भनेर पोखरा आउनुभएका राम शुरुमा स्टेशनरी त्यसपछि प्रेसमा काम गर्न थाल्नुभयो र सञ्चार क्षेत्रमा नै लामो समय काम गर्नुभयो । आफ्नै लगानीमा फार्म सञ्चालन गर्दा सुखको स्वास फेर्न सकेको रुक्मागंत अर्थात रामको अनुभूति छ ।

यसरी विभिन्न घुम्ती मोडहरु पार गर्दै फार्म विस्तारको योजनामा सहयोग नमिले फेरि पनि कोरियन भाषा परिक्षा पास भएकाले विदेसिनुपर्ने पनि हुन सक्छ रामलाई । राज्यका तर्फबाट पनि कृषिका लागि उचित वातावरण नबनेमा राम जस्ता केही गरौं भन्ने युवाले वैदेशिक रोजगारलाई बिकल्प बनाउन सक्छन् । जसले गर्दा राष्ट्रका लागि समेत नोक्सान पुग्ने निश्चित छ । यसर्थ युवाहरुलाई स्वदेशमै उद्यम गर्ने वातावरण निर्माण बनाउन जरुरी छ ।

Facebook Comments