स्याङ्जामा असिनापानीबाट सुन्तलामा ठूलो क्षति

असिनापानीले स्याङ्जामा करोडौं मुल्यको सुन्तलामा क्षति पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार असिनापानीका कारण जिल्लाको पुतलीबजार नगरपालिका र भीरकोट नगरपालिकामा गरी २ करोड बढी मुल्य बराबरको सुन्तला नष्ट भएको हो ।

पुतलीबजार नगरपालिका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिक टन सुन्तला नष्ट भएको हो । असोजमा परेको असिनापानीले उक्त परिमाणमा सुन्तलामा क्ष्ँति पुगेको हो । बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठका अनुसार असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पुर्याएको छ ।

पुतलीबजार नपा १० राङखोलाका सुन्तला व्यवसायी मुक्ति अधिकारीको एक हजार सुन्तलाका बोट छन् । अब बिक्री गर्नका लागि समय हुनै लागेका बेला एक्कासी आएको असिनापानीले उहाँको बगैँचामा रहेका ८० प्रतिशत सुन्तलामा क्षति पुर्याएको छ । अधिकारीले ३० लाखभन्दा बढीको क्षति भएको अनुमान गर्नुभयो । कृषकहरु भने बिक्री गर्ने समय नजिकै आउँदा सुन्तलामा क्षति पुगेपछि चिन्तित बनेका छन् ।

Facebook Comments