जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुग्नुभएको छ । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुनलागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका छैनन् ।

सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने प्रयास भइरहेको छ ।

सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति सी जिनपिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान भएका थिए ।

दुबै नेताले इन्डोनेसिया र फिलिपिन्ससमेतका मुलुकमा पूर्वाधार निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । प्रधानमन्त्री आबेले चीनको महत्वाकाँक्षी “बेल्ट एन्ड रोड इनिसिएटिभ” परियोजनामा समेत अभिरुचि राख्नुभएको छ, तर विज्ञहरुले यो परियोजनामा यही भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् ।

Facebook Comments