काठमाण्डौमा चिनियाँ कलाकारका कलाकृतिको प्रदर्शनी 

चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी काठमाण्डौमा शुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीनसित पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताउनुभयो ।

उहाँले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न गई दुवै देश लाभान्वित हुने उहाँले बताउनुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक दिवाकर राणाले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र यस वर्ष सेप्टेम्बरसम्ममा ९६ हजार चिनियाँले नेपाल भ्रमण गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा चिनियाँ कलाकारहरूले चीनले आफ्ना छिमेकीसँग पनि सांस्कृतिक सम्बन्ध कायम गर्ने सिलसिलामा कलाकारको टोली नेपाल भ्रमणमा आएको बताएका थिए । संस्कृति, व्यापार तथा कलाले विश्वलाई जोड्ने अवधारणाअनुसार आफूहरू नेपाल आएको कलाकारहरुको भनाई थियो ।

Facebook Comments