प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन, ८० कार्यपत्रमाथि छलफल हुने

एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन काठमाण्डौंमा शुरु भएको छ ।

सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्दै नेपालजस्तो बहुजाति भाषा, धर्म र संस्कृति रहेका देशमा यस्ता सम्मेलनबाट प्राप्त हुने निष्कर्षले नेपाल र सहभागी राष्ट्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

कासाका निर्देशक प्रा सङ्गीता रायमाझीले दक्षिण एशियाका कलासंस्कृति लैङ्गिक समानता, महिला सशक्तीकरण, आर्थिक तथा पूर्वाधार विकासलगायत विषयमा बृहत् बौद्धिक छलफल गर्ने उद्देश्यले नेपालमा सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । सेन्टर फर एडभान्स्ड स्टडिज इन साउन एशिया (कासा)ले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा संस्कृति, मिडिया र सञ्चार, लैङ्गिक र समाज, कला, इतिहास र राष्ट्र, धर्म, आर्थिक र विकासका विषयमा २५ सत्रमा विभिन्न देशका ८० कार्यपत्र प्रस्तुत हुनेछन् । तीनदिने सम्मेलनमा विदेशी ८४ र नेपाली १० जना सहभागी छन् । कासामा नेपाल, भारत, चीन, बङ्गलादेश, जर्मनी, म्यासिडोनिया र पाकिस्तानका बौद्धिक व्यक्ति आबद्ध छन् ।

Facebook Comments