बीपीको समाजवादी विचारमा विश्वास गरौं : डा महत

नेपाली काँग्रेसका महामन्त्री डा प्रकाशशरण महतले बीपीको समाजवादी चिन्तनलाई काँग्रेसले छाड्न नहुनेमा जोड दिनुभएको छ । उहाँले नेपाली काँग्रेस बीपीको समाजवादी बिचारमा विश्वास गर्ने पार्टी भएको जिकिर गर्नुभयो । डा महतले २०१० सालमै बीपी कोइरालाको प्रस्तावमा नेपाली काँग्रेसले आधिकारिक रुपमा प्रजातान्त्रिक समाजवादलाई अंगीकार गरेको बताउनुभयो ।

समयक्रमअनुसार त्यसलाई कार्यान्वयन गर्ने लक्षतर्फ काँग्रेस अगाडि बढ्दै गएको उहाँको भनाई छ । नेपाली काँग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा शुक्रबार पोखरामा आयोजित पार्टीको ‘आर्थिक नीति सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै समितिको संयोजकसमेत रहेका डा महतले यस्तो धारणा राख्नुभएको हो ।

डा महतले नेपाली काँग्रेस सिंगो पार्टीले सैद्धान्तिक रुपमा बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध रहेको दाबी गर्नुभयो । डा महतले कृषिको उत्पादनमा जोड दिनुभयो । परम्परागत कृषि उत्पादनले मात्र समग्र महत्वकांक्षा पूरा हुन नसक्ने उहाँको जिकिर थियो । डा महतले व्यवसायिक कृषिमा जोड दिनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एनपी सावदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बीपीको समाजवादी चिन्तनलाई आत्मसात् गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनको उपयोग गर्नसके आर्थिक विकास संभव हुने दाबी गर्नुभयो ।

सुझाव समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्वागत, पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले धन्यवाद र कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

नेपाली काँग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले पोखराबाट पार्टीको आर्थिक नीति सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठी शुरु गरेको हो । देशैभर पार्टीको उक्त समितिले नीति सुझा संकलनका लागि प्रदेशस्तरिय कार्यशाला गोष्ठी गर्नेछ ।

Facebook Comments