सरकारले अपराधीलाई संरक्षण गरेको छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाउनुभएको छ । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नुको सट्टा सरकारले संरक्षण गरेको आरोप लगाउनुभयो ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले नै गरेको देउवाले दाबी गर्नुभयो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कुनै पनि व्यक्ति राजनीतिक संरक्षणमा उम्कन नहुने देउवाको भनाई रहेको छ ।

उहाँले मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहिनता बढेको जिीकर गर्नुभयो । सभापति देउवाले विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिवर्तनमा तरुण दलको विशेष योगदान रहेको समेत स्मरण गर्नुभयो ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले राष्ट्र र राष्ट्रियता तथा जनहित विपरितका जुनसुकै कदम विरुद्ध तरुण उत्रने चेतावनी दिनुभएको छ ।

Facebook Comments