श्रीलकामा राजनीतिक तनाव संकट गहिरिंदै

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटकाबीच शनिबार संसद निलम्बन गर्नुभएको छ। । मन्त्रिपरिषद विघटनसँगै नयाँ प्रधानमन्त्री चयनसँगै भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद पनि निलम्बन गर्नुभएको हो ।

संसदका उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद निलम्बन गरेको पुष्टि गरेका छन् । शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसदको आपत्कालीन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद नै निलम्बन गर्नुभएको हो ।

विक्रमासिंघेले संसदमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बहुमत पुष्टि गरेर देखाउने बताउनुभएको थियो । संसदमा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेस गर्ने कार्यक्रम रहेको थियो ।

बजेट पेस गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलंकामा राजनीतिक मात्र नभई आर्थिक संकटसमेत आउने कतिपयको विश्लेषण छ । राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छाड्ने निर्णय गरेपछि उहाँले पछिल्ला कदम चाल्नुभएको हो ।

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले राष्ट्रपति पदमा आफ्नै प्रतिस्पर्धी रहनुभएका महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ समेत गराउनुभएको हो । आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद रहेको थियो ।

सभामुखको समर्थन विक्रमासिङ्घेलाई

यसैवीच सभामुखले समेत राष्ट्रपतिको निर्णयमा विमति जनाउनुभएको छ । सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्थ गर्न नमिल्ने तर्क गर्नुभएको छ ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाइ छ । अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षास्थिति बलियो पारिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

Facebook Comments