ट्राफिक नियमको पालना गरेमा दुर्घटनामा कमी

ट्राफिक नियमको पालना गरे सवारी दुर्घटनामा न्यूनिकरण हुने पोखरामा बुधबार आयोजित एक कार्यक्रममा बताइएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले मन्टेश्वरी एशोसियसन कास्कीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहयोगमा विद्यालय सवारी चालकका लागि आयोजित ट्राफिक सचेतना कार्यक्रममा वक्ताहरुले यस्तो बताएक हुन् ।

कार्यक्रममा बोल्दै कास्कीका ट्राफिक प्रहरी प्रमुख ऐनबहादुर मल्लले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको उल्लेख गर्नुभयो । मल्लले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउदै त्यसको न्यूनिकरणका लागि नियमको पालना गर्नुपर्ने बताउनुभयो ।

नेपालमा पछिल्लो समय सवारी दुर्घटनाका कारण ज्यान गुमानेको संख्या धेरै रहेको बताउदै उहाँले दश वर्षे जनयुद्धमा भन्दा पछिल्लो पाँच वर्षमा भएका सवारी दुर्घटनाबाट धेरै क्षति भएको जानकारी दिनुभयो । दश वर्षे जनयुद्धमा १५ हजारले ज्यान गुमाएको तथ्याङक रहेको छ भने पछिल्लो पाँच वर्षमा १० हजारको मृत्यु भएको र २० हजार गम्भिर घाइते भएको प्रमुख मल्लको भनाई छ । ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुने गरेको बताउदै त्यसका लागि सवारी चालकहरु सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।

सचेतना कार्यक्रमका संयोजक एवं मन्टेश्वरी एशोसियसन कास्कीका सदस्य जर्नादन सुवेदीले ६५ प्रतिशत बालबालिका सवारी मार्फत विद्यालय जाने भएकाले ट्राफिक नियम पालनाका लागि सवारी चालकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रम मन्टेश्वरी एशोसियसन कास्कीका अध्यक्ष अरुणा शेरचनकोक अध्यक्षतामा भएको थियो भने संचालन सचिव सविता कोइरालाले गर्नुभएको थियो ।

Facebook Comments