स्याङ्जामा प्याराग्लाइडिङको विश्वकप शुरु, प्रतियोगिता नेपालको गौरवः मन्त्री वि.क.

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको बताउनुभयो ।

उहाँले स्याङ्जाको स्वेरकलाई साहासिक खेल र प्याराग्लाडिङको हवका रुपमा विकास गर्न संघीय सरकारको सहयोग रहने बताउनुभयो । उहाँले संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा खेल मैदान लगायतका संरचना निर्माणले तीव्रता लिने पनि जानकारी दिनुभयो ।

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप आयोजना गरिएको हो । हालै ईन्डोनेसियामा सम्पन्न १८ औं एशियन गेममा नेपालले पाराग्लाईडिङ्गमा एक मात्र रजत पदक जितेर पदक विहीन हुनबाट जोगिएको थियो ।

स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता १८ गते सम्म हुने छ । प्याराग्लाइडर्सहरुले समुद्र सतह देखि १६०० मिटरबाट जम्प गर्ने छन भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन । पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल २१ मुलुकको सहभागिता रहने नेपाल पाराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिदेशी र स्वदेशी गरी १ सय २० जनाले सहभागिताका लागि नाम लेखाएका छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् ।

कार्यक्रममा संघीय संसद सदस्य नारायण मरासिनी, प्रदेश सांसद मोहन रेग्मी, भीरकोटका मेयर छायाराम खनाल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक सीता सुन्दासको अध्यक्षतामा सम्पन्न गरिएको हो । प्रतियोगितामा स्याङ्जा जिल्ला समन्वय समिति र सबै स्थानीय तहको सहयोग रहेको छ ।

Facebook Comments