पोखरामा आधुनिक बधशाला निर्माणका लागि मेयरको संयोजकत्वमा समिति गठन

पोखरा महानगरमा बधशाला निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । मासुजन्य पदार्थहरुको अब्यवस्थित बेचबिखनलाई नियन्त्रण गर्नपनि बधशाला निर्माणमा उनीहरुले जोड दिएका हुन् । बधशाला नगरभित्रको क्षेत्रमा नभई नगरबाहिर निर्माण गर्नुपर्नेमा उनीहरुले सुझाव दिए । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने उनीहरुको जोड थियो ।

हेफर इन्टरनेसनलको नेपालस्थित कार्यलयको आयोजित बैठकका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । गण्डकी प्रदेशका बन, कृषि, उद्योग तथा पर्यटनमन्त्री विकास लम्सालले पशु बधशालालाई उद्योगकै रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका र व्यवसायीसँग मिलेर व्यवस्थित बधशाला निर्माणका लागि प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालको भनाई थियो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाभित्र आधुनिक बधशालाको खाँचो औंल्याउँदै महानगरकै अग्रसरतामा निर्माण गर्ने प्रतिवबद्धा व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाभित्र बार्षिक १ लाख ५० हजार खसी बोकाको माग हुने उल्लेख गर्दै प्रमुख जिसीले बधशाला निर्माण मात्र नभई खसी बोका उत्पादनमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले आधुनिक बधशालाका लागि गण्डकी प्रदेश सरकारले ५ करोड छुट्याएको जानकारी दिनुभयो । यसबाहेक समुदाय र सहकारीमार्फत पनि आधुनिक बधशाला निर्माण र संचालन गर्न सकिने सचिव श्रेष्ठको धारणा थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष रबिन्द्रबहादुर प्रजुु, वडा नं १६ का वडा अध्यक्ष जीवन आचार्य, पोखरा उद्योग वाणिज्य संघकी प्रथम उपाध्यक्ष बिन्दु कोइराला लगायतले बधशाला निर्माणबारे सुझाव दिएका थिए । हेफर इन्टरनेशनलको नेपालस्थित कार्यलयका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले हेफर ईन्टरनेशनलका क्रियाकलाप र बधशाला निर्माणमा हुन सक्ने सहयोगबारे आफ्ना धारणा राख्नुभएको थियो ।

छलफलमा पोखरा महानगरपालिकाका वडा अध्यक्ष, मासु व्यवसायी र संचारकर्मीहरुको सहभागिता थियो । यसैवीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको संयोजकत्वमा प्रदेश सरकार, स्थानीय सरकार, पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, मासु व्यवसायी, सहकारी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित बधशाला निर्माण समिति गठन गरिएको छ । समितिले आवश्कता अनुसार प्राविधिक तथा विज्ञ जनशक्तिसँग राय लिन सक्ने बताइएको छ ।

Facebook Comments