सरकार पूर्णत असफलः नयाँ शक्ति पार्टी नेपाल

नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सड्क संघर्ष गर्ने निर्णय गरेको छ । नयाँ शक्तिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेको हो । निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेका लगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनुपरेको पार्टीका संयोजक डा.डा.बाबुराम भट्टराईले  बताउनुभयो ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पार्टीले जनाएको छ ।

नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान सञ्चालन गर्न लागिएको पनि संयोजक भट्टराईले बताउनुभयो । यसैबीच, नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै निर्मला पन्तको हत्यारालाई अभिलम्ब पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई पुनः दवाव दिएको छ ।

Facebook Comments