पत्रकारको पारिश्रमिक कार्यान्वयनको अवस्थाबारे पोखरामा छलफल

पोखरामा पत्रकारको न्युनत्तम पारिश्रमिक कार्यान्वयनको अवस्था र प्रतिबद्धता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नमा विभिन्न समस्या रहेको बताएका थिए ।

मिडिया सञ्चालकले पत्रकारहरुले व्यवसायिक हुन नसकेको, धेरै ठाउँमा काम गर्ने र व्यवसायिक पत्रकारिता कम हुने गरेकाले ऐन कार्यान्वयनमा चुनौति रहेको बताएका थिए । एक भन्दा बढी ठाउँमा स्थायी नियुक्ति र सेवा सुविधा खोज्ने, धेरै स्थानमा काम गर्दा मिडिया हाउसले काममा लगाउन अफ्टेरो भएको बताएका थिए ।

पत्रकारहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसकेको तथा कार्यान्वयनका लागि महासंघ र विभिन्न पेशागत संगठनबाट उचित पहल हुन नसकेको बताएका थिए । महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले महासंघमा लिखित उजुरी नआएको र व्यवसायिक पत्रकार बाहेक अमर्यादित पत्रकारिता गर्नेको वकालत गर्न नसक्ने बताउनुभयो ।

न्युनत्तम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले न्यूनत्तम पारिश्रमिक भनिएपनि अधिकत्तम जति पनि लिन दिन सक्ने उल्लेख गर्नुभयो । पेशामा व्यवसायिक दक्षता प्रदर्शन गरे उचित पारिश्रमिक लिन समस्या नहुने उहाँको भनाई थियो ।

पारिश्रमिक बृद्धि सिफारिस समितिका संयोजक एवं पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पारिश्रमिक तोक्ने भन्दा पनि सञ्चार संस्थाहरुमा कार्यान्वयन गर्नु चुनौतिपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले रेडियोहरु पनि मर्ज गर्ने बारे छलफल चलाउनुपर्ने बताएका थिए ।

Facebook Comments