तनहुँको भिमादमा दोश्रो भिमाद महोत्सव हुने

तनहुँको भिमादमा ‘दोस्रो भिमाद महोत्सव’ हुने भएको छ । कात्तिक २९ देखि मंसिर ११ गतेसम्म महोत्सव हुनेछ । तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाईको आयोजनामा भिमाद रङ्गशालामा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘कला संस्कृतिको संरक्षण कृषि पर्यटन र व्यापार, दोश्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ नारासहित महोत्सव आयोजना गरिएको प्रचारप्रसार संयोजक राजु खनालले जानकारी दिनुभयो ।

महोत्सवमा भिमाद र आसपासका क्षेत्रमा उत्पादन गरिएका मास, बोडी, सिलम, गहत, पिडालु, तरुल, अदुवा, सुन्तलालगायतका खाद्यान्न, फलफूल तथा तरकारीहरु बिक्री तथा प्रदर्शनी गरिनेछ । महोत्सवमा कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, सांस्कृतिक प्रदर्शनीलगायतका गतिविधि हुने मूल आयोजक समितिका संयोजक चतुर्भुज सुवेदीले जानकारी दिनुभयो ।

औद्योगिक तथा अटोमोवाइल प्रदर्शनी तथा खरिद बिक्री, ताजा तरकारीहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय परम्परागत खानाका परिकारहरुको प्रदर्शनी, आदिवासी, जनजातिहरुको भेषभूषा तथा कला संस्कृति र झाँकीहरुको प्रदर्शनी हुने आयोजकले जनाएको छ । महोत्सवमा १९० स्टल रहनेछन् ।

भिमादमा सिद्ध गुफा, नेपालकै सबैभन्दा लामो भनेर दाबी गरिएको चमेरे गुफा, भागर तपोभूमिको सिद्धगुफा, नेपाली टिपिकल गाउँहरु रघु र मिछुर्लुङ, रिसिङ, साभुङ, जिलाङ, मोहोरियालगायतका बस्तीहरु छन् । महोत्सव सञ्चालन गर्न ७३ लाख २२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments