मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन, तुलाधरको निधनले राष्ट्रलाई क्षति प्रचण्ड

पूर्वमन्त्री एवं मानव अधिकारवादी नेता तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत् तुलाधरको आईतवार अपरान्ह कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ ।

तुलाधरलाई मस्तिष्कघात भएपछि कार्तिक ६ गते शुक्रबार अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिसका लागि अन्नपूर्ण न्यूरो अस्पतालबाट कार्तिक १३ गते बेलुकी नर्भिक अस्पतालको आइसियूमा सारिएको थियो । नर्भिकमा तीनपटक डायलाइसिस लगायतको अन्य समस्याको उपचारपश्चात् पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नभएपछि केही दिन अघि भेन्टीलेटरमा राखिएको थियो ।

तत्कालीन कम्युनिस्ट पार्टीहरुले समर्थनमा जनपक्षिय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत रहनुभएका तरलाधर प्रखर वक्ताका रुपमा परिचित हुनुहुन्थ्यो । बहुदल आएपछि तुलाधर वि.सं २०४८ र २०५१ मा गरी दुईपटक सांसद बन्नुभएको थियो । उहाँ २०५१ सालमा तत्कालीन एमाले नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

तुलाधरको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका रहेको छ । तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।

तुलाधरको निधनले राष्ट्रलाई क्षति प्रचण्ड

यसैवीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । दिवंगत तुलाधर प्रति नर्भिक अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग तुलाधरको पछिल्लो स्वास्थ्यस्थितिका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा नेता तुलाधरले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभएको छ । अध्यक्ष प्रचण्डले एक शोक विज्ञप्ती जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलेको भूमिका सदा स्मरणीय रहेको बताउनुभएको हो ।

Facebook Comments