पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनलाई

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै घरेलु टिम पोखरा पल्टनले उपाधि जितेको हो ।

पोखराले अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो ।

पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरेका थिए । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए भने मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाएका थिए । पोखराका कप्तान शरद भेषावकरले २२, आशिफ शेख १२ रन बनाउन सफल भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थिए । चितवनका लागि कप्तान पारस खड्काले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाई अर्धशतक पुरा गरे । त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरेका थिए । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।

पुरस्कार वितरण

नेपाल कम्युष्निट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), नेकपाका नेता खगराज अधिकारी, काँग्रेस नेता गगन थापा, पोखरा महानगरका मेयर मानबहादुर जिसी, भरतपुर महानगरकी मेयर रेनु दाहाल, प्रदेश सांसद राजिव पहारी लगायतका अतिथिको उपस्थितिमा पुरस्कार वितरण गरिएको छ ।

पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । पिपिएलमा पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज, काठमाण्डौं रोयल्स गरी ६ टिम सहभागी भएका थिए ।

Facebook Comments