मादी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

मादी गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा मादी १ सिक्लेसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा, विकास निर्माण्का काम लगायतका विषयमा सुनुवाई सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, पशु, कृषि, शान्ति सुरक्षा, भौतिक पूर्वाधार लगायतका बिषयगत शाखाका तर्फबाट प्रथम चौमासिकमा भएका कार्यप्रगतिबारे सम्बन्धित शाखा प्रमुखहरुले जानकारी गराएका थिए । प्राविधिक महेन्द्र आचार्य, शिक्षा शाखाका हिमलाल शर्मा, स्वास्थ्य शाखाका राजबहादुर भण्डारी, कृषि शाखाका हिरालाल शाह, पशु शाखाका भक्तबहादुर रोका, शान्तिसुरक्षाबारे डिलबहादुर भण्डारी र वडा नं. १, २, ६ र ७ का वडा अध्यक्षहरुले वडामा भएका समग्र विकास निर्माण र अन्य दैनिक सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले मादी गाउँपालिकाको समग्र विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा उपस्थित नागरिकसमक्ष जानकारी गराउनुभएको थियो । सो अवसरमा मादी १ र २ को सीमा सम्बन्धि समस्या समाधान, वडाले गर्ने सिफारिस, भौतिक पूर्वाधार निर्माणको अनुगमन,सार्वजनिक सम्पत्ति संरक्षण, शिक्षामा सुधार, स्वास्थ्यामा नागरिकको सहज पहुँचको व्यवस्था, पारदर्शिता, सुशासन लगायतका विषयमा उपस्थित सर्वसाधारणले प्रश्न गरेका थिए ।

सुशासनलाई कायम गर्ने नागरिकलाई सहज सेवा प्रवाह गर्ने लगायतका विषयमा गाउँपालिका अध्यक्ष गुरुङ, माथि उल्लेखित ४ वटा वडाका वडाध्यक्षले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्देश्य, सार्वजनिक सुनुवाईको आचारसंहितबारे मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि जंगबहादुर गुरुङ, नेकपाका प्रतिनिधि बालकृष्ण गुरुङ, मादी गाउँपालिका सार्वजनिक लेखा समितिका सभापति सरोज केसी, सुशासन समितिका संयोजक विष्णु गौतम, वडाध्यक्षहरु १ का सुरजकुमार गुरुङ, २ का एकजंग गुरुङ, ६ का पथबहादुर बास्तोला, ७ का लालबहादुर गुरुङ, ४ सत्यराज सापकोटा जिल्ला समन्वय समितिका बृहस्पति सापकोटा, गाउँपालिका उपाध्यक्ष बिष्णुमाया आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मादी १, २ ६ र ७ का वडाबासीको सहभागिता रहेको थियो ।

Facebook Comments