भाटभटेनीमा दुधजन्य उपभोग्य बस्तु बिक्रीवितरणमा रोक

सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिइएको हो । भाटभटेनी सुपर मार्केटबाट विक्रीहुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिनुभयो ।

तिहारमा अत्याधिक विक्रीवितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले आज अत्याधिक बिक्रीवितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य वस्तुको पनि परीक्षण गरेको हो । परीक्षणमा दुधजन्य वस्तु गुणस्तरहिन पाइएको थियो । यसैगरी विभागले आज तीनवटा मिठाई पसलमा पनि अनुगमन गरेको छ ।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाण्डु लगायत देशका मुख्य–मुख्य सहरमाबजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सरकारले विगत २ महिनायता तरकारी, दुध, मासु, खानेपानी, तेललगायतका दैनिकउपभोग्यखाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्यवस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ ।

Facebook Comments