छठ पर्व अन्तर्गत ‘खरना’ मनाईंदै

चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको आज दोस्रो दिन व्रतालुको घरघरमा साँझ ‘खरना’ पूजा गरि मनाइँदैछ । पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएपछि पूर्णरुपले उपवास बसेका छठका व्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पार्छन् । मधेसतिर यो पर्वकै प्रयोजनको लागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती प्रसाद तयार पारिन्छ ।

खरानाको दिन व्रतालुले घरको एक शान्त कोठालाई लिपपोत गर्छन् । भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गर्छन् । हो–हल्लाले पूजा भंग हुने आस्थाका कारणले व्रतालुले कोठाको ढोका थुनेरै आराधना गर्छन् ।

टाढा घर भएका आफन्तजन एवं मितमितेनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन् । छठ पूजाको मुख्य दिन अगाडीको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यो पुजापछि व्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन भोलि साँझ एवं चौथो दिन बुधबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घ्य दिइने गरिन्छ । बिहानीको अध्र्य लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ ।

Facebook Comments