छठ पर्वः अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदैछ । तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिने गर्छन् ।

छठ पर्वका लागि विशेष गरी तराई क्षेत्रमा नदी किनार तथा ताल तलैयाहरुमा विशेष सजावट गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने प्रचलन रहेको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र सोही समयदेखि छठ मनाउने परम्परा थालनी भएको जनबिश्वास रही आएको छ । छठले सत्य र अहिंसाप्रति रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विश्वास राखिन्छ ।

छठ पर्वमा विशेषगरी गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट बनाइएका गुलिया खाद्य सामग्री प्रयोग गरिन्छ । अन्नबाहेक फलफूल, ठेकुवा, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा चढाउने गरिन्छ । सप्तमीका बिहान अर्थात पर्वको अन्तिम दिन पार्वण गरेपछि छठ सकिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्माओली, राजनीतिक दलका प्रमुख लगायतलेले छठ पर्वका अवसरमा सन्देश मार्फत् शुभकामना व्यक्त गरेका छन् । सन्देशमा नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्नुका साथै आपसी सद्भाव थप सुदृढ पार्ने विश्वास व्यक्त गरिएको छ ।

Facebook Comments