टोकियो ओलम्पिक महिला फुटबल एसियन छनोट अन्तर्गत नेपाल दोस्रो चरणमा प्रवेश

टोकियो ओलम्पिक महिला फुटबलका लागि म्यानमारमा जारी एसियन छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसंग १/१ गोलको बराबरी खेलेको हो । सबै खेल बराबरी खेलेको नेपाल दोश्रो चरणमा प्रवेश गरेको छ ।

याङगोनस्थित थुनुवा रंगशालामा अन्तिम समय सम्हालिन नसक्दा नेपालले बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने नेपालले बनाएको थियो । खेलको १६ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

तर, खेलको इन्जुरी समयमा बंगलादेशका अखिल खातुनले गोल गर्दै खेल १, १ को बराबरीमा ल्याउनुभयो । सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता भएको हो ।

तीनै खेलमा बराबरी खेलेको नेपाल उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । भारत र म्यानमार पनि दोस्रो चरण प्रवेश गरेका छन् । सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।

Facebook Comments