सूचिलाई दिइएको ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ को सम्मान फिर्ता

मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । एमनेष्टीले सन् २००९मा सूचिलाई दिइएको सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । सूचि आफ्नै घरमा नजरबन्दमा रहेका बेला उक्ता सम्मान दिइएको थियो ।

एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका विषयमा सूचीको भूमिका निराशाजनक रहेकाले सम्मान फिर्ता लिनुपरेको एमनेष्टीले जनाएको छ । एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै उनलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराउनुभएको छ । पत्रमा सूचीले मानवअधिकारको रक्षाका लागि सही अडान लिन नसकेको र सूचिको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ ।

रोहिग्या अल्पसंख्यकका विरुद्ध भएको अत्याचारप्रति सुचीको रुखो व्यवहारले आफूहरु उहाँलाई दिएको सम्मान फिर्ता गर्न बाध्य भएको एमनेस्टीले जनाएको छ । क्रुर सैन्य शासनविरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्दमै रहेर संघर्ष गरेकी सूचीलाई एमनेस्टी इन्टरनेसनलले सन् १९८९ मा राजनीतिक बन्दी घोषित गरेको थियो । म्यानरमा धार्मिक हिंसा भड्कदा लाखौ रोहिंग्या बंगलादेशमा शरणार्थी अवस्थामा रहेका छन् ।

Facebook Comments