मनकामना केवलकार कप माघको दोश्रो साता

तेश्रो संस्करणको मनकामना केवलकार कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता आगामी माघको दोश्रो सातादेखि पोखरा रंगशालामा शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटवल संघले प्रतियोगिताको तयारी शुरु गरेको छ ।

‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतीको काम भइरहेको संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले जानकारी दिनुभयो । मैदान गोडमेलका लागि अहिले दैनिक दश जनाले काम गरिरहेका छन् । मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

मैदानको काम सकिए लगत्तै प्रतियोगिता सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरिने संघका उपाध्यक्ष विश्व तण्डुकारले बताउनुभयो । मैदानको पश्चिमतर्फ भत्किएको प्यारापिटमा दर्शक बस्न मिल्ने गरि उचित व्यवस्था गरिने पनि तण्डुकारले जानकारी दिनुभयो ।

प्यारापिट भएको ठाउँमा अहिले बयँर झाडि पलाएको छ । झाडि फाँडेर त्यसलाई सम्याउने, मैदानको पूर्वतर्फ स्काइफोल्डर राख्ने र भिआइपीहरुका लागि मञ्चको व्यवस्थापन गरिने संघले जनाएको छ । संघले यसअघि मनकामना केवलकारका दुई वटा संस्करण पुरा गरिसकेको छ । संघ र केवलकारविच तीन संस्करणको सम्झौता भएको थियो ।

Facebook Comments