श्रीलंकामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित

विगत केही हप्तायता श्रीलंकामा राजनीतिक संकट बढ्दै गएको छ । श्रीलंकाको पुर्नस्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेविरुद्ध बुधबार अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई हिजो पुर्नस्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ ।

सभामुख कारु जयसूर्याले २ सय २५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गर्नुभयो । राष्ट्रपतिले रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको थियो । संसद र अदालतको फैसलापछि राष्ट्रपति सिरिसेनालाई आफ्नो राजनीतिक कदमको बचाउ गर्न कठिन हुने देखिएको छ । आफ्ना निर्णय अदालतले उल्टाएपछि सिरिसेनालाई नैतिक संकट समेत थपिएको छ ।

Facebook Comments