अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अदादतमा मुद्दा

प्रसिद्ध सञ्चारमाध्यम केबल न्यूज नेटवर्क (सिएनएन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ ।सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका ह्वाइट हाउस मामला हेर्ने मुख्य संवाददाता जिम एकोस्टाको प्रेस पास ह्वाइट हाउसले रद्द गरिदिएको थियो । राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमै बहस भएको विषयमा एकोस्टाको प्रेस पास रद्द गरिएको बताइएको छ ।

सिएनएनले पत्रकार एकोस्टाको संवैधानिक अधिकार हनन भएका कारण मुद्दा दायर गरिएको जनाएको छ । मुद्दामा राष्ट्रपति ट्रम्प र उहाँका सहयोगीलाई विपक्षी बनाइएको छ । यसैवीच ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एकोस्टाको अमर्यादित आचरणका कारण प्रेस पास रद्द गरिएको स्पष्टीकरण दिनुभएको छ । पत्रकारले यस प्रकारको व्यवहार गरेमा ह्वाइट हाउसले व्यवस्थित र निष्पक्ष पत्रकार सम्मेलन गर्न नसक्ने स्यान्डर्सको तर्क रहेको छ । ७ नोभेम्बरमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र पत्रकार एकोस्टाबीच विवाद भएको थियो ।

Facebook Comments