नेपाल प्रहरीलाई डिजिटल गभर्नमेन्ट अवार्ड

नेपाल प्रहरीले सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी काम गरेबापत ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ प्राप्त गरेको छ । सरकारी संस्थालाई दिइने उक्त अवार्ड नेपाल प्रहरीले प्राप्त गरेको हो । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनले उक्त अवार्ड प्रदान गर्ने गर्दछ ।

नेपाल प्रहरीले ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका कार्यकारी सदस्य अभिजित गुप्ताले नेपालका तर्फबाट उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

उक्त अवार्ड बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका वीच गुप्ताले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो । संस्थाले एशोसिओ आउटस्ट्याण्डिङ कम्पनी, आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन, डिजिटल गभर्नमेन्ट र आइसिटी एजुकेशन गरी चार विधामा अवार्ड वितरण गर्दै आएको छ । त्यसमध्ये नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो।

सदस्य राष्ट्रबीच आइसिटी इन्डस्ट्रीलाई प्रवद्र्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो। संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था रहेका छन् ।

Facebook Comments