खटाएको ठाउँमा नजाने कर्मचारीलाई अवकाश : नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । बुधबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको अवलोकनपछि प्रचण्डले यसतो बतानउुभएको हो ।

उहाँले जिल्लाको प्राकृतिक स्रोत/साधनको अधिक प्रयोग गर्न पनि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले स्वदेशमै स्वरोजारीको अवसर सिर्जना गर्न, विदेश पलायनको क्रम रोक्न पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सिंहदरबारको अधिकार गाउँमा पुगेरमात्रै संघीयता बलियो नहुने भन्दै उहाँले संघीयताको मर्मअनुसार स्थानीय तहमा रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सुविधा हुनुपर्ने बताउनुभयो । यसअघि म्याग्दीमै उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट अवकाश दिनुपर्ने बताउनुभएको थियो ।

संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई अवकाश दिनुको विकल्प नभएको प्रचण्डको भनाई रहेको छ । कर्मचारी समायोजन पेचिलो बनेको उल्लेख गर्दै प्रचण्डले प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सरकारले कठोर निर्णय लिनुपर्ने बताउनुभयो ।

Facebook Comments