३ सय वर्ष पुरानो पँधेरा संरक्षणमा स्थानीयको चासो

कला राना, स्याङ्जा

झण्डै ३ सय वर्ष पुरानो पँधेरा संरक्षणमा स्थानीयले चासो देखाएका छन् । घरआँगनमै पानीको धारो भएपछि जिर्ण अवस्थामा रहेको स्याङ्जाको भीरकोट ५ स्वरेक पाँडे गाउँस्थित ओख्ले पँधेरालाई सरसफाई गरीएको छ । ग्रामिण सडक विस्तारका क्रममा पुरिएको पँधेरा तथा कुवा स्थानीयले सरसफाई गरी पहिलेकै अवस्थामा फर्काउने प्रयास गरेका छन् । त्यहाँका स्थानीय तथा पत्रकार घनश्याम पाण्डेका अनुसार पांडेगाउँदेखि १५ मिनेटको दुरीमा पुग्न सकिने पँधेरा झण्डै ३ सय वर्ष पुरानो हो ।

एउटै शिलामा वर्षौँ पहिले स्थानीयले पानी संकलनका लागी कुवा खोपेका थिए । झण्डै १२ गाग्री पानीको संकलन हुने क्षमताको शिलावरिपरि कपडा धुँने स्थान समेत छ । पाण्डे भन्नुहुन्छ, “हाम्रा हजुरवुवा तथा बुवाहरुले त्यहीँ कुवाको पानी प्रयोग गर्नुभयो, विकास निर्माणका कारण पँधेरा जिर्ण भयो अहिले स्थानीयको पहलमा सरसफाई गरेका छौँ” ।

त्यहाँका २० घरपरिवारले पहिले त्यहीँ पँधेराको पानी प्रयोग गर्दै आईरहेका थिए । अहिले जुकेपानीको पानी घरघरमा आउँन थाले पछि पुरानो पँधेरा जिर्ण बनेको हो । पुरिएको धाराबाट झण्डै २ ट्रक माटो फालिएको पाण्डेले बताउनुभयो । जुकेपानीमा कुनै समस्या आएमा सो ओख्ले पँधेरा त्यहाँका स्थानीयको बैकिल्पक पानीको स्रोत समेत हो । पंधेरा संरक्षणले पानीको मुहान संरक्षणमा टेवा पुगेको र बन्यजन्तलाई समेत कुवामा पानीको प्रयोग गर्न सहजता मिल्ने स्थानीयको विश्वास छ ।

Facebook Comments