आप्रवासीहरु अमेरिकी सीमातर्फ अगाडि बढ्दै

संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् । यो संगै अन्य आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु मध्ये कतिपय भने पुनः मेक्सिकोतर्फ फर्किएका थिए ।

उनीहरुमध्ये केहीले ’ हामी अपराधी होइनौं,’ भन्दै ठूलो स्वरमा चिच्याएका थिए । उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब ६ हजार थप सैनिक परिचालन गर्न आदेश दिनुभएको छ ।

अर्को मुख्य समूहमा करिब चार हजार आप्रवासी सहभागी छन् । उनीहरु पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन् । कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ ।

यीमध्ये चार बालबच्चा सहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरु होन्डुरसका नागरिक हुन् ।
गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ । त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ । तिजुआनमा भेला भएका धेरैजसो आप्रवासीहरुले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन् ।

सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहनुभएका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिनुभएको छ । तर रिपब्लीकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् ।

Facebook Comments